जुम्लाको खलंगामा नौ महिनापछि बल्यो बिजुली

काठमाडौं, साउन २३ । साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ।

बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ।

घुघुत्ति लघु जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्ने क्रममा नौ महिनादेखि बिजुली बन्द थियो। निर्माणाधीन विद्युतगृहमा नयाँ मेसिन जडानकै क्रममा बेरिङ भाँचिएपछि नौ महिनादेखि अँध्यारो जुम्लाको सदरमुकाम खलंगामा डिजेल प्लान्टका माध्यमबाट बिजुली बलेको हो।

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापा अल्पकालीन बिजुली समस्या समाधानका लागि डिजेल प्लान्ट ल्याइएको बताउँछन्। प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास कोषको रकम खर्च हुनेगरी डिजेल प्लान्टबाट बिजुली बालिएको हो।

सांसद महतले चन्दननाथ बहुद्धेशिय सहकारी संस्था लिमिटेड जुम्लाबाट १० जनाको नामबाट क्रण निकालेर डिजेल प्लान्ट जुम्ला ल्याएका हुन्। आगामी आर्थिक बर्षको सांसद बिकास कोषको अख्तियारी आउने बित्तिकै क्रण तिर्ने सहमति गरिएको छ।

भारतीय राजदूतावासको सहयोगमा लघु जलविद्युत् आयोजनामा मेसिन जडान क्रममा बेरिङ भाँचिएपछि मेसिन मर्मत हुन्जेलसम्म डिजेलबाट बिजुली बाल्नुपर्ने अवस्था आएको बिद्युत उपभोक्ता समितिका अध्यक्ष बुढ्थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्