संक्रमणकालीन न्याय राजनीतिक दलहरूको बन्धनमा !
काठमाडौं, साउन १९ । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कसले नेतृत्व गर्ने भन्ने विषयमा दलबीच भागबन्डा नमिल्दा अन्योल वढेको छ ।
दुई आयोगको म्याद सकिएको झन्डै ६ महिना पुग्दासम्म पूर्णता पाउन सकेको छैन । नेकपा र नेपाली कांग्रेसबीच मतभेदका कारण अझै केही समय दुई आयोगको पूर्णता नपाउने सम्भावना देखिएको छ ।
केही साताअघि नेकपाका अध्यक्ष प्रचण्डले वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई सत्यनिरुपण आयोगको अध्यक्ष बनाउने गरी सहमति खोज्न खोज्दा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले मानेनन् ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई सत्यनिरुपण आयोगको अध्यक्ष बनाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमति राखेपछि एक साताअघिदेखि दुई आयोगको पदाधिकारी नियुक्ति प्रक्रियाको काम रोकिएको छ ।
संक्रमणकालीन न्यायको विधि तय हुन नसक्दा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा तीन महिनाअघि गठित समिति ‘रबर स्टयाम्ब’जस्तो बनेको छ ।
शान्ति प्रक्रियालाई नेपालले आफ्नै विधि र प्रक्रियामा टुंग्याउने विषयमा निचोडमा दलहरु पुग्न नसकिरहेका बेला चार अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा शान्ति प्रक्रिया विफल भएको भन्दै विज्ञप्ति निकाले ।
राष्ट्रसंघ, युरोपियन युनियनलगायतले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको भनी आलोचना गरे ।
केही समयअघि एमनेस्टि इन्टरनेसनलसहित चार अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले विज्ञप्ति निकालेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँडेर नेतालाई हेगमा र्पुयाउने षडयन्त्र भइरहेको बताएका थिए ।
प्रचण्डको बुझाइमा एकैपटक चार अन्तर्रा्ष्ट्रिय संस्थाले विज्ञप्ति निकालेर नेपाल शान्ति प्रक्रियामा असफल भयो भन्नुमा नेपाललाई पुनः शान्ति हुन नदिनका लागि विदेशी नियोग लागिरहेका छन् । –यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्