१० महिनापछि लागुऔषधसहित लुटेरा पक्राउ
काठमाडौं, साउन १८ । आइएमइबाट रकम झिकेर घर फर्कंदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक, राम्चे–७ घर भइ हाल काठमाडौंको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि–१, लोकन्थली, नरेफाँटबाट लागुऔषध डाइजेपाम, नोफिन र फेनारगन ६ सेट तथा मोबाइल चारथानसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
वि.सं. २०७५ असोज २४ गते सल्लाघारीमा रहेको एक आइएमइबाट रु दुई लाख निकाली निकोसेरातर्फ आउँदै गरेकी जया कोइरालाको साथबाट चाँगुनारायण नगरपालिका–२, दुवाकोटको हनुमन्ते पुल पार गर्नेक्रममा उक्त रकम र मोबाइलसहित लुटपाट गरी फरार रहेका तिमिल्सिनालाई लागुऔषधसहित पक्राउ गरेको उनले बताए ।
उक्त रकम लुटपाटमा संलग्न रहेका तीनजनामघ्ये तिमिल्सिना मुख्य रहेका र अन्य दुईजना सुजन तामाङ र पविन तामाङ यसअघि नै पक्राउ परी जेलमा रहेका प्रनाउ कोइरालाले जानकारी दिए ।
पक्राउ परेका अभियुक्त तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगीमासमेत संलग्न रहेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्