भाडामा कोठा पाउँ भन्दै काठमाडौं महानगरपालिकामा उजुरी

काठमाडौँ, साउन १५ । भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ ।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको हो।

त्यसैगरी घर भाडा भाग लगाई पाऊ भनी एक वटा उजुरी परेको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिइन्।

काठमाडौं महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गत आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा १९८ उजुरी दर्ता भएकोमा ६१ वटा फछर्यौंट भएको र ९० वटा विचाराधिन अवस्था रहेको पनि उल्लेख गरिएको छ।

ती उजुरीमध्ये सबैभन्दा बढी ५४ वटा उजुरी घर कोठा खाली गराई पाउन माग गर्दै परेको पनि महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले बताइन्।

न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरि दिन पनि ३४ वटा उजुरी परेको पनि जनाएको छ।त्यसमध्ये २० वटा फछर्यौंट गरिएको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले जानकारी दिए।

उनका अनुसार सार्वजनिक बाटोमा निर्माण गरिएको घर, टहरा हटाउन पनि उजुरी दिइएको छ।न्यायिक समितिले सार्वजनिक बाटो खुलाई पाउन पनि ४ वटा उजुरी परेको स्पष्ट पारेको छ।

उपमेयर हरिप्रभा खड्गी संयोजक रहेका न्यायिक समितिले परेका उजुरीमाथि छानबिन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्