निर्मला हत्याको एक वर्ष पूरा : सरकार दोषी पत्ता लगाउन असफल, अनुसन्धान प्रगति पनि शून्य
काठमाडौं, साउन १० । कञ्चनपुर १३ वर्षीया निर्मला पन्तको बलात्कार गरि हत्या भएको एक वर्ष पूरा भएको छ ।
साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको बलात्कारपछि हत्या भएको आज एक वर्ष पूरा भएको हो ।
एक वर्ष सम्म पनि हत्यारा पत्ता नलागेपछि निर्मलाका आमा बुवा अहिले निकै निरास छन् ।
निर्मलालाई न्याय र दोषीलाई कारवाहीको माग गर्दै कञ्चनपुर लगायत देशभर लामो समय आन्दोलन भयो । निर्मलालाई न्याय माग्न मानव अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी, महिलाको समूह सडकमा उर्लियो ।
निर्मलालाई न्याय माग्न सडकमा आएका कञ्चनपुरकै अर्को बालकले प्रहरीको गोली लागेर ज्यान गुमाउनु प¥यो । तर सरकार दोषी पत्ता लगाउन असफल रह्यो ।
पन्तको २०७५ साल साउन १० गते हत्या भएको थियो । हत्या भएको एक वर्षसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।
एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहित एक दर्जन टोलीले अनुसन्धान गरिसकेका छन् । अनुसन्धानकै क्रममा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण भयो । तर, त्यसबाट हत्यारासम्बन्धी कुनै पनि सुराक पत्ता लाग्न सकेन ।
एक वर्षको अवधीमा प्रहरीले कुनै उपलब्धि हासिल गर्न नसक्नुको पछाडि प्रहरीकै लाबरबाही भएको आरोप लाग्दै आएको छ । त्यसो त घटनास्थलको संरक्षणदेखि मुचुल्का, शिलबन्दी र अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको छ ।
सुरुमै गरेको त्रुटीले प्रहरीले अहिलेसम्म बलात्कार र हत्यारा सम्बन्धी कुनै पनि तथ्य फेला पार्न सकेको छैन ।
अनुसन्धानका लागि कुनै प्रमाण फेला नपारेपछि प्रहरीले डीएनएलाई अनुसन्धानको पहिलो कडी बनायो । भिडलाई शान्त बनाउन र आन्दोलनलाई कम गर्ने उद्देश्यले तथ्य र प्रमाणमा भन्दा पनि हल्ला र आशंकाको भरमा अनुसन्धान अगाडि बढ्यो ।
यही क्रममा कतिपय निर्दोषलाई पक्राउ गरेर अपराधीकै रुपमा प्रस्तुत गरियो । त्यति मात्रै होइन, पटक पटक मन्त्रीहरुले नै अपराधी पक्राउ परेको दाबी गरे । एक दुई दिनमै अपराधी सार्वजनिक हुन्छ भन्दै प्रतिबद्धता समेत जनाए । तर, पक्राउ परेका सबै निर्दोष सावित भए । र, अपराधी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका मन्त्रीहरु आफ्नै प्रतिबद्धतामा चुके ।
प्रहरीले अनुसन्धानका क्रममा प्रदिप रावल र विशाल चौधरीलाई काठमाण्डौसम्म र्पुयायो । उनीहरुमाथि प्रहरी प्रमुखले नै सोधपुछ गरे । प्रहरीकै दवाबमा अपराध स्वीकार्न लगाइए पनि अन्ततः डीएनए परीक्षणमा उनीहरु पनि निर्दाेष देखिए ।
घटनाको अनुसन्धानमा राज्यको जनशक्ति मात्रै होइन लगानी समेत खेर गइरहेको छ । घटनाको अनुसन्धानका लागि अहिले पनि सीआईबी सहितको टोलीले जिल्लामा बसेर काम गरिरहेको छ ।
साँघुरो बनाउँदै लगिएको र पुराना प्रमाणहरुलाई रुजु गर्ने काम भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश कुमार आचार्य बताउछन् ।
प्रहरीले विभिन्न समय सोधपुछका क्रममा नियन्त्रणमा लिएकाहरू कसैको पनि कसुर पुष्टि हुन नसक्दा प्रहरीको अनुसन्धानको शैली नै विवादमा पर्दै आएको छ ।
दोषी पक्राउको माग गर्दै गत भदौ ७ र ८ मा भएको प्रदर्शनमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा थुप्रैजना घाइते भए भने वडा नम्बर १८ कै शनि खुनाको मृत्यु भएको थियो ।
यसैबिच पन्तलाई न्याय माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीमा प्रदर्शन गरेको छ ।
हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘निर्मलाले न्याय कहिले पाउँछिन् ?’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
नेविसंघ कार्यकर्ताहरूले गृहमन्त्रीवरुद्ध समेत नाराबाजी गरेका थिए । निर्मलाका हत्यारा पत्ता लगाउन असमक्षम भएकाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उनीहरुको छ ।
निर्मलाको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्यापछि यसको छानबिनका लागि विभिन्न समितिहरू बनेका थिए । तर, हत्याको १ वर्ष गुज्रिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । जसका कारण सरकार आलोचित बन्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्