फरार भएको छैन पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु: राजीव गुरुङ

काठमाडौं,२३ कात्तिक । ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले आफू फरार नभएको बताएका छन्। सर्वोच्चबाट फैसलाको पूर्णपाठ आएपछि आफू अदालतमा उपस्थित हुने पनि बताएका छन्।

सर्वोच्चले उनीविरुद्धको मुद्दामा कात्तिक २० गते फैसला गर्दै गुरुङलाई दोषी ठहर गरेको थियो । त्यसपछि उनी सार्वजनिक छैनन्। मोबाइल फोनसमेत अफ गरेका छन् । सधैं विवादम रहन मनपराउने मनाङेले शुक्रबार विज्ञप्ति जारी गर्दै तारनतार आइरहेका कलहरूले गर्दा केही समयको लागि फोन अफ गरेको बताएका छन्।  ‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयं उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

फैसला आउँदाको दिनदेखि सञ्चार माध्ययमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बारे विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको बताएका छन्।

२०७९ को प्रदेश सभा निर्वाचनमा मनाङे मनाङ जिल्लाको प्रदेश सभामा ‘ख’ स्वतन्त्र उम्मेदवार थिए । उनी निर्विरोध निर्वाचत भएका हुन्। पछि माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गरेका उनले केही समयमै उक्त पार्टीसमेत परित्याग गरेका थिए । मनाङे पहिलो प्रदेश सभा र दोस्रो पटकको कार्यकाल गरी ६ पटक मन्त्री भइसकेका छन् ।

२ दसकअघि चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा मनाङेमाथि लागेको हो । यो मुद्दामा उच्च अदालत पाटनको फैसला अनुसार सर्वोच्चले उच्चकै फैसला सदर गरेको हो ।

अब सर्वोच्चको फैसला अनुसार फेरि बाँकी समय कारागार जानु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्