सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता
काठमाडौँ । भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ ।
सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् ।
भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामांङको घरको शिलान्यास गरी आवास निर्माणको शुभारम्भ गरेका थिए ।
तर लाभग्राहीले आवास निर्माणमा खासै चासो दिएका थिएनन् । अझै पनि बैंकमा जग्गा धितो राखेर ऋण नपाएका गरिबीका रेखामुनि रहेका कतिपय लाभग्राहीले भने आर्थिक अभावका कारण आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य भएका छन् ।
गएको दशैँयता धेरैजसोले आवास निर्माण शुरु गरेका छन् । तर यसैबेला व्यापारीले मौका छोपेर सिमेन्ट र फलामे डण्डीको आकासिने गरी मूल्यवृद्धि गर्नुका साथै कृत्रिम अभावसमेत सिर्जना गरेका छन् ।
केही समय पहिले रु ७५० मा पाइने ओपिसी सिमेन्टको मूल्य हाल रु एक हजारभन्दा माथि पुगेको छ भने फलामे डण्डीमा पनि व्यापक मूल्यवृद्धि भएको छ । यसरी मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेकामा लाभग्राही आक्रोशित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्