पोखरामा पहिलो पटक फेला पर्यो ‘पेन गन’ : लागु औषध कारोबारी पक्राउ

काठमाडौं, साउन १ । प्रहरीले पोखराबाट पेन गन सहित लागु औषध कारोबारी पक्राउ गरेको छ । कास्कीमै पहिलोपटक ‘पेन गन’ फेला परेको हो ।

लागु औषध कारोबारमा संलग्न १ जनाले साथमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पेन गन’ सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए ।

लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा रानाभाटलाई अनुसन्धान पश्चात्त पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनको साथबाट एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको एसपी कार्कीले बताए ।

साथमा फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की प्रहरीको टोलीले बरामद गरेको छ । पक्राउ परेका रानाभाटले साथमा लिई राखेको विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

बरामद भएका प्रमाणका आधारमा रानाभाटसँग जोडिएका अपराधिक व्यक्तिहरुको पत्तो लाग्न सहज हुने प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको र छिट्टै नै सम्बन्ध व्यक्तिहरुको पहिचान गरिने एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्