फोहोर नउठाएको भन्दै काठमाडौंका मेयरविरुद्ध प्रदर्शन, फोहोर उठ्न अझै केही दिन लाग्ने
काठमाडौं , असार १५ । फोहोर नउठाएको भन्दै बाल्मिकी क्याम्पसका विद्यार्थीहरुले काठमाडौंका मेयरविरुद्ध प्रदर्शनसंगै नाराबाजी गरेका छन् ।
उनीहरुले क्याम्पस अगाडिको फोहोर नउठाएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
क्याम्पस अगाडि सडकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा पनि काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको भन्दै उनीहरुले सडक अवरुद्धसमेत गरेका छन् ।
फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध पनि विद्यार्थीहरुले चर्को नाराबाजी गरेका हुन् ।
विद्यार्थीहरुले सडकमा थुप्रिएको फोहोर बालेर केहीबेर सडक अवरुद्ध पारेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाएको छ ।
फोहोर फाल्ने क्षेत्र सिसडोलका स्थानीय वासिन्दाको अवरोधका कारण केही दिनदेखि महानगरपालिकाले फोहोर उठाउन सकेको छैन ।
यसरी काठमाडौंको फोहोरले दुर्गन्धित फैलिएको छ । यसबाट मानिसमा विभिन्न किसिमका संक्रमण रोगहरु लाग्ने गर्दछन् ।
यसैबिच उपत्यकाको फोहोर उठ्न अझै केही दिन लाग्ने भएको छ । नुवाकोट सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकन गर्नुपर्ने लगायत माग गर्दै आन्दोलन थालेपछि एक हप्तादेखि उपत्यकाको फोहोर उठाउन समस्या भएको छ ।
एक हप्तादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको जोखिमसमेत बढेको छ ।
फोहर ब्यवस्थापनबारे जनप्रतिनिधि र स्थानीयबासिन्दासँग छलफल गर्न प्रयास गरिरहे पनि स्थानीयबासिन्दा बार्तामा आउनै नचाहेकाले समस्या जटिल बन्दै गएको काठमाण्डौ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
उनले गृह मन्त्रालय, शहरी विकास मन्त्रालय, विज्ञ र स्थानीयबासिन्दाको बैठक बस्नुपर्ने भएकाले अझै केही दिन लाग्ने बताए । शनिबार वार्ताको प्रयास भए पनि सहमति नहुँदा स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको थियो ।
सिसडोलमा फोहोर भरिँदै गएकोले नुवाकोटकै बञ्चरेडाँडामा फोहोर फाल्ने ठाउँ बनाउने भनेर काम थालिए पनि काम पूरा हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्