फेरि बढ्यो अण्डाको मूल्य , कति पुग्यो ?

काठमाडौं, असार १४ । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ ।

संघले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २ सय ५५ रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १ सय ७० रुपैयाँ कायम गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।

यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट दुई सय र मध्यम अण्डाको प्रति क्रेट १ सय १५ रुपैयाँ पाउँदै आएका थिए। संघका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए।

जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो। अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकहरु लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए।

कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य १० रुपैयाँ पर्न जान्छ तर कृषकले सात रुपैयाँमा वितरकलाई बिक्री गर्दै आएका थिए। यो अण्डा बजारमा एउटाको १५ रुपैयाँमा पाइन्छ।

नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ। यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन्। दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन्।

देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेलले बताए। यस व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्