सिरिञ्ज आक्रमण बढ्दै : डेढ महिनामा नौ घाइते, संलग्न भएको आशंकामा एकजना पक्राउ

काठमाडौँ, असार १३ । पछिल्लो समय काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण भएको र त्यसमा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षका सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएका छन् ।

काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि सोही प्रकृतिको घटना भएको छ । सबै घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।

यसैबिच बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं भएको चिकित्सकहरुले बताएका छन् । यस्तो आक्रमण जेठयताको हो ।

अहिले सिरिञ्ज आक्रमणमा परेका महिलाहरुको उपचार काठमाडौंको टेकु अस्पतालमा भइरहेको छ । उता, आक्रमणकारी महिलाको खोजी गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेको छ ।

काभ्रे प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र शंकास्पद व्यक्ति देखेमा तत्काल प्रहरीलाई खवर गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गरी आमा समूह, टोल सुधार समिति, उपभोक्ता समिति, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थालाई यस्ता ब्यक्तिकोे पहिचानका लागि सादा पोशाकका प्रहरीसमेत चोक–चोकमा परिचालन गरेकाले सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्