भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो
काठमाडौं, असार ११ । डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ ।
केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि मूल्य आकासिएको हो।
पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलको मूल्य बढाउनु परेको तरकारी पसल पिपल्लाका दिनेश चन्दले बताएका छन् ।
भारतबाट आयात गरिने तरकारीसहित आँप, लिचीलगायतका फलफूलमा विषादी भएको भन्ने खबर आयो, हामीले तरकारी र फलफूल मगाउन छोडेकाले यहाँ मूल्य बढेको हो ।’ तरकारी आयात गर्न बन्द गरिएपछि यहाँका होटेल तथा स्थानीयवासीका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको हो उनले भने, ।
तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरिखाने वर्ग समस्यामा परेको दीपायल पिपल्लाका स्थानीयवासी वीरबहादुर विष्टले बताए । उनले भने, ‘जिल्लामा तरकारी उत्पादन कम हुन्छ, तराईबाट आयात गरिएको तरकारी विषादी मिसिएको भनेर ल्याउन छोडे, यहाँ मूल्य बढेपछि दैनिक मजदुरी गरिखाने वर्ग मारमा परेका छन् ।’
यहाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० पुगेको स्थानीय उपभोक्तहरु बताउँछन् । केही दिनपहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्त खडक बोहराले बताए ।
उनले भने, ‘पहिले प्रतिकिलो १०० रुपैयाँमा पाइने गोलभेँडा अहिले २०० रुपैयाँ पुगेको छ, काउली, सिमीलगायतका तरकारीमा भाउ बढेको छ, हामीलाई समस्या भयो ।’
त्यस्तै भारतबाट आयात गरिएको आँप पहिले प्रतिकिलो रु ८० मा पाइने भए पनि अहिले भारतको आँप ल्याउन छोडिएपछि यहाँको स्थानीय आँपको मूल्य प्रतिकिलो १९० रुपैयाँ पर्न थालेको छ ।
डोटीमा विगतदेखि नै छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा भारतको पलिया, लखनऊ, बरेली, खटिमा, बनबासा, गौरीफाँटलगायतका शहरबाट तरकारी आयात गरिँदै आएको थियो । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ९०, हरियो खुर्सानी प्रतिकिलो रु १५० रहेको तरकारी व्यापारीहरु बताउँछन् ।
यतिमात्र नभई यहाँको बजारमा तरकारीको मूल्यमा एकरूपता नभएका कारण व्यापारीहरुले पसलैपिच्छे तरकारीको मूल्य अलगअलग लिने गरेको उपभोक्ताहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्