एन्फाको नक्कली टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जना प्रहरीद्वारा पक्राउ
काठमाडौं, असार ७ । एन्फाको नक्कली टि सर्ट बनाई बेच्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नक्कली लोगो समेत प्रयोग गरी टि(सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका-९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौं खुसिबुस्थित बिआरके सप्लायर्सका संचालकद्वय काठमाडौं महानगरपालिका-१७ बस्ने रुपन्देहीका ३६ वर्षीय बिष्णु प्रसाद कडेंल तथा काठमाडौं महानगरपालिका-१७ बस्ने स्याङजाका ३५ वर्षीय सागर पाण्डे, काठमाडौं महाबौद्धस्थित रेडिमेड स्टोरका संचालक काठमाडौं महानगरपालिका-९ बस्ने ५२ वर्षीय गोबिन्द खनाल, काठमाडौं बिशाल बजारस्थित एसि स्पोर्ट्स गोदामका संचालक काठमाडौं बनस्थली बस्ने रौतहटका २५ वर्षीय रामशरण खरेल र काठमाडौं सुन्धारास्थित सिटि स्पोर्ट्सका संचालक काठमाडौं सुन्धारा बस्ने झापाका ३४ वर्षीय निलम बस्नेत रहेका छन् ।
महाशाखाबाट खटिएको प्रहरीले उक्त जर्सी बिक्री गर्न लिई हिंडेको अवस्थामा चन्द्रदत्तलाई ३२ थान जर्सी तथा बिष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३ सय ३८ थान जर्सी सहित उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा गोबिन्दको रेडिमेड स्टोरबाट २ सय ७४ थान, रामशरणको एसि स्पोर्ट्स गोदामबाट २ सय ४२ थान र निलमको सिटि स्पोर्ट्सबाट ३० थान नक्कली लोगो भएका जर्सी फेला पारी शुक्रबार उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको सो महाशाखाले जनाएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्