विप्लव समूहका ८५ नेता कार्यकर्ता जेल चलान

काठमाडौं, असार ६ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेतारकार्यकर्ता जेल चलान भएका छन् ।

आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेतारकार्यकर्तामध्ये ८५ जनालाई कारागार चलान गरिएको हो ।

कारागारमा रहेका र अनुसन्धानपछि रिहा भएकामाथी ४ सय ७४ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

आतंककारी, विध्वंसात्मक तथा संगठीत अपराध र लुटपाटमा संलग्न रहेको अभियोग सरकारले लगाएको छ ।

नेकपामाथी २०७५ फागुन २ गतेको मन्त्रिपरिषदले प्रतिवन्ध लगाउँदै उसका गतिविधि नियन्त्रणमा चारवटै सुरक्षा निकाय अहिले परिचालन गरेको छ।

गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटेरा समूहको संज्ञा दिदै सरकार चुप लागेर नबस्ने चेतावनी दिएका थिए। त्यसको ५ दिनपछि विप्लवमाथी सरकारले प्रतिवन्ध नै लगाएको थियो।

सरकारले प्रतिवन्ध लगाएपछि विप्लव सहित केन्द्र देखि स्थानीय स्तर सम्मका नेता कार्यकर्ता भूमिगत भइसकेका छन्।

उनीहरुको खोजीमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रलाई विशेष सुरक्षा कार्यदलका रुपमा परिचालन गरिसकेको छ।

चारवटै सुरक्षा निकायका विशेष अनुसन्धान टोलीलाई विप्लवका नेतारकार्यकर्ता खोजिमा परिचालन गरिएको गृह मन्त्रालय स्रोतको भनाई छ।
यता बिहीबार मात्रै प्रहरीले गोली प्रहारबाट चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको हो।


प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको दावी गरेको छ। यस अघि एक कार्यकर्ताको पनि भोजपुरमा प्रहरीको कारवाहीमा ज्यान गएको थियो ।

यसरी विप्लवका नेता तथा कार्यकर्ता दिनानुदिन विभिन्न स्थान बाट पक्राउ पर्ने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्