युवती हत्या प्रकरण : पैसाकै लोभले हत्या भएको आशंका, आरोपी एक जना पक्राउ, उनले दिए यस्तो बयान
काठमाडौं, असार ६ । पाँचथरको हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाँउमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र लाओतीलाई बिहीबार राति ८ बजे पक्राउ गरेको हो ।
सुजाताको हत्यापछि फरार अभियुत्त लाओतीको खोजतलास गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ ।
हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत तामाङ हिलिहाङ–६, रातमाटेमा फाइनान्स समूहको बैठकसँगै व्याज र किस्ता संकलन गरेर फर्कँदै गर्दा गएको मंगलबार साँझ सित्ते भन्ने ठाँउको जङगलको गोरेटो बाटोमा धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
लाओती हिलिहाङ–५, स्थित गाँउमै लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । लाओतीले पैुाकै लोभमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलामको माईजोगमाई गाउँपालिका–५, घर भएकी तामाङको शव वुधबार पोस्टमर्टमपछि आफन्तलाई जिम्मा दिइएको पाँचथर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्