रुकुम मौरी पालनका लागि उपयुक्त, सुरु भयो व्यवसायिक मौरीपालन

काठमाडौं । रुकुमका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् ।
रुकुमका आठविसकोट र मुसिकोट नगरपालिका तथा सिस्ने, त्रिवेणी र बाँफीकोट गाउँपालिकाका कृषकले व्यवसायिक मौरीपालन सुरु गरेका हुन् ।

यहाँका कृषकले मौरीपालन व्यवसायबाट प्रशस्त आम्दानी लिन थालेका छन् । मौरीको एउटै घारबाट एकै सिजनमा २ देखि ३ धार्नी मह उत्पादन हुने गरेको छ ।

रुकुम जिल्ला मध्यपहाडमा पर्ने र प्रशस्त मात्रामा चिउरी, तोरी र फूल फुल्ने भएकाले मौरीका लागि उपयुक्त चरण हुने गरेको छ ।

मौरी पालन गर्न धेरै दुख नहुने र सानो परिश्रमबाट धेरै प्रतिफल लिन सकिने भएकाले कृषकहरु यसतर्फ आकर्षित भएका हुन् ।

महमा धेरै औषधीय गुणसमेत हुने भएकाले उपभोक्ताले रुचाउने गरेका छन् ।

भौगोलिक रुपमा रुकुम मौरी व्यवसायका लागि उपयुक्त भएकाले जिल्ला कृषि विकास कार्यालय रुकुमले मौरी पालनका लागि किसानलाई प्रोत्साहित गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्