गुराँस लाइफको नबिकेको तीन लाख २२ हजार कित्ता हकप्रद लिलाममा
काठमाडौं, ३० जेष्ठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको २९ लाख ७० हजार कित्ता हकप्रद शेयर मध्ये २६ लाख ४७ हजार कित्ता मात्रै बिक्री भएको छ ।
कम्पनीले बिक्री नभएको तीन लाख २२ हजार कित्ता हकप्रद शेयर बोलकबोल लिलामबाट बिक्री गर्ने भएको हो । कम्पनीले असार पाँच गतेदेखि १२ गतेसम्म बोलकबोल लिलामको लागि आह्वान गरेको छ । तीन लाख २२ हजार कित्तामध्ये दुई लाख ४० हजार कित्ता सर्वसाधारण समुहतर्फको हो भने बाँकी ८२ हजार कित्ता संस्थापक शेयर रहेको छ ।
बोलकबोल आवेदन दिँदा संस्थापकतर्फ एक हजार कित्ता र सर्वसाधारण शेयरतर्फ न्युनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।
लिलामको आवदेन दिनको लागि लक्ष्मी क्यापिटल नयाँवानेश्वर, लक्ष्मी बैंकका शाखा कार्यालयहरु बिर्तामोड, जनकपुर, विराटनगर, हटौडा, नारायणगढ, पोखरा, बुटवल, वीरगंज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगंज, धनगढी र महेन्द्रनगरबाट पाइने कम्पनीले जनाएको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गरेसँगै चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ कायम हुनेछ । कम्पनीले ५९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद र हकप्रदपछिको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभाबाट पारित गरेको थियो । हकप्रद शेयर र बोनस शेयर दिएसँगै कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
बीमा समितिको निर्देशन अनुसार कम्पनीलाई अझै एक अर्ब ६ करोड रुपैयाँ आवश्यक पर्छ । कम्पनीले अझै गत आर्थिक वर्ष २०७४/७५ को साधारणसभा गर्न बाँकी छ । गत वर्षको नाफाबाट पनि बोनस शेयर दिन सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्