बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा, जनजीवन निकै कष्टकर
काठमाडौं, जेठ ८ । विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।
कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ । जेठ ५ गते सम्पन्न गर्ने कार्यतालिका भए पनि आजसम्म मर्मत कार्य सकिएको छैन ।
मौसम प्रतिकूल भएका कारण निर्धा्रित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भए बिहीबार दिउँसोदेखि विद्युत् सेवा सञ्चालन हुनेछ । सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न कामसमेत सकिएकाले चाँडै विद्युत् बल्ने सम्भावना रहेको उपमहाप्रबन्धक मास्केले बताए ।
छ सय किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनवेँसीलगायतका क्षेत्रमा विद्युत् वितरण गर्दै आएको छ ।
सममायनै विद्युत् सेवा सञ्चालन नहँुदा यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनका लागि वैकल्पिक व्यवस्था गरिएको भए पनि लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको सल्लेरीका शिक्षक भोजकुमार अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्