स्वाभिमान लघुवित्तको आईपिओ बाँडफाँड हुँदै

काठमाडौं, ५ जेठ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ५ गते आइतबार आज बिहान १० बजे शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड हुँदैछ ।

अधिक माग भएका कारण लघुवित्तको आईपिओमा ५ प्रतिशत आवेदकले मात्र पाउने भएका छन् भने बाँकी ९५ प्रतिशत आवेदकको हात खालि हुने भएको हो । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार स्वाभिमान लघुवित्तको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदकहरुबाट प्रति कित्ता रु १०० का दरले ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा लघुवित्तको आईपिओमा १८ हजार ५५९ जनाले गोलाप्रथाबाट शेयर पाउनेछन् । यो कुल आवेदकको ५.६६ प्रतिशत मात्र हो । बाँकी ९४.३४ प्रतिशत आवेदकले भने हात खाली हुने भएको छ ।

स्वाभिमान लघुवित्तले १ लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो । निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।

रुपन्देहीको तिलोत्तमा, ५ मणिग्राममा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्तको हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्त्ता
पूँजी ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्