गर्मी बढेसँगै सप्तरीमा सर्पदंशका घटनामा वृद्धि, बैसाख महिनामा मात्रै ८१ जनाको उपचार, एकको मृत्यु
काठमाडौं, बैशाख २६ । गर्मी बढेसँगै सप्तरीमा सर्पदंशका घटना वृद्धि भएका छन्। बुधबार मात्रै सर्पको टोकाइबाट ९ महिने बालिकाको मृत्यु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–५, बानरझुलाका रन्जित कुमार रायकी छोरी प्रियाको सर्पले डसेर मृत्यु भएको हो। ठूलोबुबा दिनेश कुमार रायको आँगनमा खेलिरहेकी बालिकालाई विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।
सर्पले डसेको जानकारीपछि रन्जितले तत्कालै छोरीलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल र्पुयाएको बताए। तर, अस्पतालमा र्पुयाउनु अघिनै बालिकाको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए।
गर्मी बढेपछि अस्पतालमा दैनिक सर्पदंशका बिरामी वृद्धि भइरहेको अस्पतालले जनाएको छ। सरदर दैनिक ५ जनासम्म सर्पले डसेका बिरामीको उपचार भइरहेको सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए।
बैसाख महिनामा मात्रै ८१ जना सर्पदंशका बिरामीको उपचार गरिएको उनको भनाइ छ।
गर्मी महिनामा जमिन तातेर सर्प दुलोबाट बाहिर निस्कने र मान्छेका क्रियाकलापले असर गर्दा आक्रमण गर्ने भएकाले सर्पदंशका घटना बढेका डा दासले बताए। सजगता अपनाउन सके यस्ता घटना कम गर्न सकिने उनीले बताए ।
प्रतिक्रिया दिनुहोस्