काठमाडौंका आठ स्थानमा ट्राफिक बत्ती, जडान सुरु

काठमाडा, बैशाख काठमाडौंको आठ स्थानमा ट्राफिक बत्ती जडान सुरु भएको छ। कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार, तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो।

काठमाडौंका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ। यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुबै खालका स्थान छनोट भएको छ।

ठेकेदार कम्पनीले कालीमाटी चोकमा बत्ती जडान गरिसकेको र पद्मोदय घुम्ती र सिंहदरबारअघि जडान गर्ने काम अन्तिम चरणमा पुगेको विभागका सुरक्षा तथा ट्राफिक शाखा महाशाखाका प्रमुख दिप बाराहीले बताए। तीनकुने, पुरानो बानेश्वर र मित्रपार्कमा पोल निर्माणको काम भइरहेको उनले बताए। उनले भने, “यी सबै स्थानमा आगामी महीनासम्ममा काम सम्पन्न हुने हामीले आशा गरेका छौँ।”

अहिले बत्ती जडान भएका स्थानमा पहिले एक साता बत्तीको परीक्षण हुने र ट्राफिक प्रहरीलाई तालीम दिइने प्रमुख बाराहीले बताए। उनका अनुसार ट्राफिक बत्ती विभिन्न समय र मौसममा कुनै खराबी नदेखिएमा एक महीनामा नै नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ।

काठमाडौँमा वर्षेनी सवारीको चाप बढिरहे पनि ठाउँठाउँमा ट्राफिक बत्ती नहुँदा सवारी चाप र दुर्घटना हुने गरेको छ। काठमाडौँमा मात्रै झण्डै २०० स्थानमा स्थानीयवासीले ट्राफिक बत्तीको माग गरिरहेको बताउँदै प्रमुख बाराहीले भने, ‘‘विभागले गरेको अनुसन्धानमा पनि ६० स्थानभन्दा बढी स्थानमा ट्राफिक बत्ती आवश्यक देखिएको छ।’’ हाल ललितपुर र भक्तपुरमा तीनरतीन स्थानमा मात्रै ट्राफिक बत्ती रहेका छन्।

उनले भने, “एक वर्षको बजेटले जति ठाउँमा बनाउन सकिन्छ, बाँकी स्थानमा अर्को वर्षको बजेटले बनाउने योजना छ।’’ यसअघि काठमाडौँ जिल्लामा जम्मा २० स्थानमा ट्राफिक बत्ती भए पनि जम्मा पाँच वटा मात्रै सञ्चालनमा थियो। रु एक करोड नौ लाखको लागतमा नेपाली प्राविधिकले नै बत्ती जडानको काम गरिरहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्