भारतद्वारा सिन्धुपाल्चोक जिल्लामा गुम्बाको पुनर्निर्माण

काठमाडौं, बैशाख ६ । भारतले सिन्धुपाल्चोक जिल्लामा गुम्बाको पुनर्निर्माण गरेको छ ।

भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको हो ।


गुरु स्याल्पा तेन्जिङ् रिम्पोछेले बिहीबार उक्त भवनको उद्घाटन गरेका छन् ।


गुम्बा पुनर्निर्माणका अतिरिक्त नेरु. १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण भएको छ ।


वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।


लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहदै आएको छ ।

उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले विशेष अतिथिका रुपमा सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्