कुलेखानी तेस्रो जलविद्युत आयोजनाको काम अन्तिम चरणमा , असारभित्र थप ७४ मेगावाट बिजुली उत्पादन हुने
काठमाण्डौ , बैशाख ४ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्र ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली थ्री एको झण्डै ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
उनले भने ‘विभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगेर विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’, ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनको महत्पूर्ण माइलस्टोन हो, विद्युत् गृहका टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, असारभन्दा अगाडिनै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको छ ।’
प्रसारण लाइनको पनि तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिए ।
मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ ।
यस्तै रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् १७ वैशाख (३० अप्रिल २०१९) भित्र ल्याउने गरी काम भइरहेको छ ।
आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घिसिङले जानकारी दिए । उनले मुख्य सुरुङमा पानी हाल्ने प्रक्रिया सुरु भएको बताए ।















प्रतिक्रिया दिनुहोस्