आर्थिक रुपमा उच्च बैंकको शीर्षस्थानमा ग्लोबल आईएमई र नबिल

काठमाडौं,  ११ माघ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा वाणिज्य बैंकहरूको कुल सम्पत्ति बढेको छ । बैकहरुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वाणिज्य बैंकहरूको कुल सम्पत्ति गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढेको हो ।

वाणिज्य बैंकहरुको कुल सम्पत्ति २ खर्ब ९९ अर्ब ८४ करोडले वृद्धि भई ७१ खर्ब ९६ अर्ब ८१ करोड पुगेको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकहरुको सम्पत्ति ६८ खर्ब ९६ अर्ब ९६ करोड रहेको थियो ।

यो अवधिमा १९ वटा वाणिज्य बैंकको कुल सम्पत्ति बढेको छ भने १ वटा बैंकको कुल सम्पत्ति घटेको छ ।

आर्थिक रुपमा सबैभन्दा उच्च कुन बैंक ?

यो अवधिमा ग्लोबल आईएमई बैंक सबैभन्दा उच्च देखिएको छ । बैंकको कुल सम्पत्ति ५.९१ प्रतिशतले बढेर ६ खर्ब ४० अर्ब २४ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

उच्च बैंकको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकको कुल सम्पत्ति ५.११ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

अन्य कुन बैंकको सम्पत्ति कति ?

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको ५ खर्ब २६ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सम्पत्ति ५ खर्ब ३३ अर्ब, कुमारी बैंकको ४ खर्ब ३६ अर्ब,प्रुभ बैंकको ३ खर्ब ६७ अर्ब, लक्ष्मी सनराइज बैंकको ४ खर्ब ९ अर्ब, हिमालयन बैंकको ३ खर्ब ६६ अर्ब, नेपाल बैंकको ३ खर्ब ६४ अर्ब, एनएमबि बैंकको ३ खर्ब २२ अर्ब, कृषि विकास बैंकको ३ खर्ब २० अर्ब, एभरेष्ट बैंकको ३ खर्ब १४ अर्ब र सिद्धार्थ बैंकको ३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी,प्राइम बैंकको २ खर्ब ९० अर्ब, सानिमा बैंकको २ खर्ब ४६ अर्ब, माछापुच्छ्रे बैंकको १ खर्ब ९९ अर्ब र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ खर्ब ५१ अर्ब,सिटिजन बैंकको २ खर्ब २७ अर्ब, नेपाल एसबिआई बैंकको २ खर्ब २२ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ ।

घट्यो एनआईसी एशिया बैंकको सम्पत्ति
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा आइपुग्दा बैंकको सम्पत्ति ११.२८ प्रतिशतले घटेर ३ खर्ब ६४ अर्ब १५ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्