मंसिर २५, २६ र २७ गते तिनदिने सुनापति लगानी सम्मेलन हुँदै
काठमाडौं, १० मंसिर । रामेछापको सुनापति गाउँपालिकाले स्थानीय प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक समृद्धिको लक्ष्यसहित लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
गाउँपालिकाले सुनापतिलाई लगानीमैत्री तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सम्मेलनमार्फत निजी क्षेत्र, सहकारी, बैंक तथा वित्तीय संस्था र लगानीकर्तालाई सहकार्यमा मंसिर २५, २६ र २७ गते तिनदिने सुनापति भ्रमण वर्षसहित सम्मेलनको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारिी दिइएको हो ।
सम्मेलनमा गाउँपालिका अध्यक्ष ठुलोकान्छाराम तामाङले सुनापति प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता र मौलिक पहिचानले भरिपूर्ण सम्भावनायुक्त क्षेत्र भएकाले योजनाबद्ध लगानीमार्फत आर्थिक समृद्धिको आधार निर्माण गर्न सकिने बताए।
उनले सुनापतिमा पर्यटन विकासका पर्याप्त सम्भावना भए पनि ती सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न नसकिएको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र नागरिकको आम्दानी वृद्धि गाउँपालिकाको प्राथमिकता रहेको बताए।
अध्यक्ष तामाङका अनुसार गाउँपालिकाले १९ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन भ्रमण वर्ष २०८३ का रूपमा विकास गर्ने लक्ष्य लिएको छ। सुनापति डाँडा, धार्मिक तथा सांस्कृतिक सम्पदा, गुम्बा, फलाम पोखरी, धर्मघर, पानिघाट युद्ध पार्क, डम्फुडाँडा, विभिन्न धार्मिक स्थल, चिया बगान तथा लवखप्ते छ्योर्तेन डाँडालगायतका क्षेत्रलाई व्यवस्थित पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
गाउँपालिकाले पर्यटन पूर्वाधार विकास, पदमार्ग, खानेपानी, शौचालय, दृश्यावलोकनस्थल, स्थानीय उत्पादन बिक्री केन्द्र, डिजिटल सूचना प्रणाली तथा सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको छ। यसका लागि सार्वजनिक–निजी साझेदारी ९पीपीपी० अवधारणाअनुसार निजी क्षेत्रलाई समेत विकास प्रक्रियामा सहभागी गराउने नीति लिइएको अध्यक्ष तामाङले बताए।
उनका अनुसार प्रस्तावित परियोजनाबाट प्रत्यक्ष रूपमा १५ देखि २० जनासम्म र अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्म रोजगारी सिर्जना गर्ने प्रारम्भिक लक्ष्य राखिएको छ। यसबाट स्थानीय युवा, महिला, कृषक, घरेलु उद्यमी, सहकारी तथा साना व्यवसायीलाई आर्थिक गतिविधिमा जोड्ने अपेक्षा गरिएको छ।
अध्यक्ष तामाङले विकासका नाममा प्राकृतिक वातावरण, धार्मिक आस्था, सांस्कृतिक पहिचान र मौलिक सम्पदामा असर पर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे। वातावरणमैत्री निर्माण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, वृक्षरोपण तथा विपद् जोखिम न्यूनीकरणलाई पर्यटन विकाससँगै प्राथमिकता दिइने उनको भनाइ छ।
गाउँपालिकाले लगानीकर्ताका लागि नीतिगत सहजीकरण, पारदर्शी प्रक्रिया, सम्भावित परियोजनाको अध्ययन तथा सार्वजनिक–निजी साझेदारीको संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर मेघीले पनि गाउँपालिकाको विकास योजना, लगानीमैत्री वातावरण निर्माण र प्रस्तावित परियोजनाको कार्यान्वयनमा प्रशासनिक समन्वय तथा सहजीकरणको भूमिका महत्वपूर्ण रहने बताएका छन्।
गाउँपालिकाले सुनापतिलाई केवल घुम्ने गन्तव्यका रूपमा मात्र नभई लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको नयाँ सम्भावना खोज्ने नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।























प्रतिक्रिया दिनुहोस्