बुटवल–गोरुसिङ्गे सडक शिलान्याश, सवारीसाधन र यात्रुलाई सास्ती नहुने
काठमााडैं, ११ माघ । बुटवल–गोरुसिङ्गे सडकलाई ६ लेनमा स्तरोन्नति गर्ने कार्यको शिलान्याश भएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन मार्फत उक्त सडक खण्डको शिलान्याश गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताए । प्रधानमन्त्री ओलीले बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तारको काम आगामी तीन वर्षभित्र गरिसक्ने उद्घोष गरे ।
आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थ्रु हुनु एक उपलब्धि भएको उनले बताए ।
उच्च संकल्प र आँटका साथ देशको विकास हामी आफैंले गर्नुपर्ने जोड दिए । प्रधानमन्त्री ओलीले विकास निर्माणमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट पारे ।
विदेशबाट ऋण लिए पनि मुख्यरूपमा उच्च संकल्प र आँटका साथ नेपाल र नेपालीले नै विकासका पूर्वाधारहरू बनाउने बताए । उनले पूर्वाधार विकासका कामहरू तीव्ररूपमा भइरहेको तर कतिपयले भ्रम फिंजाइरहेको बताए ।
तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड ५० किलोमिटर लामो छ ।
बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारीसाधन र यात्रुहरूलाई सास्ती नहोस् भनेर बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा अहिलेको पिच नभत्काई सुरुमा दायाँ–बायाँतर्फको लेन बनाइसकेर मात्र बीच भागको सडक भत्काउने तयारी छ ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत १३ असारमा ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।
आयोजनाका अनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर (६ लेन) , सहरोन्मुख क्षेत्रमा ३७ दशमलव ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा (चार लेन) कायम हुनेछ ।
आयोजनाका अनुसार ५० किलोमिटर सडक खण्ड दुई चरणमा २५–२५ किलोमिटरमा विभाजन गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको छ ।
पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछ भने १४९ वटा कल्भर्ट पनि निर्माण हुनेछ ।
विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर वन्यजन्तुमैत्री अन्डरपास बनाउन लागिएको हो ।
जंगल क्षेत्रमा बनाइने १९ अन्डरपासमध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा र कोइली–घेरुवा–बनगाई–गोरुसिङ्गे खण्डमा १० वटा अन्डरपास बनाइने छ ।
बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययन पश्चात गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अन्डरपास’ निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।
रुपन्देहीमा पर्ने जितगढी बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जितपुर चोकमा ‘भेहीकल अन्डरपास’ बनाउनका लागि माटो परीक्षणको काम भएको न्यौपानेले बताइन् । विस्तार हुने सडक क्षेत्रको नापजाँच, सर्भे, विद्युत् पोल सार्ने, सडक क्षेत्र मिचेर बनेका संरचना खाली गराउने, माटो परीक्षण र रुख कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
‘बुटवल–नारायणगढ सडकमा जस्तो सवारीसाधन र यात्रुलाई सास्ती हुन नदिन अहिलेको पिच नभत्काई दायाँ–वायाँ लेनको काम गरेर मात्र बीचको सडक पछि बनाउने तयारी छ,’ न्यौपानेले भनिन् ।
सडक विस्तार क्षेत्रभित्रका पालिकाहरूले बुटवल–नारायणगढ सडक निर्माणका क्रममा भोग्नुपरेको जस्तो सास्ती फेरि नहोस् भनेर आयोजनाका अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए ।
बुटवलदेखि गोरुसिङ्गे सम्मको करिब ५० किलोमिटर खण्ड विस्तारको काम पूरा भएलगत्तै कपिलवस्तुको चन्द्रौटासम्मको सडकखण्ड विस्तारको प्रक्रिया अगाडि बढाउने सरकारको तयारी छ । गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटर छ । अहिले सो सडकखण्ड डिजाइनको काम भइरहेको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा बुटवल–नारायणगढ खण्डमा जस्तो सवारीसाधन र यात्रुलाई सास्ती नहुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए ।
‘पहिले सर्भिस लेन, फुटपाथ, कल्भर्टहरू बनोस् त्यसपछि मात्र बीचको पीच भत्काउन सुझाव दिएका छौं, आयोजना प्रमुखले पनि मान्नुभएको छ, ’पौडेलले भने, ‘समय र लागत नबढ्ने गरी गुणस्तरीय काम हुनुपर्छ, यसमा स्थानीय पालिकार नागरिक समाजले निरन्तर निगरानी र खबरदारी गर्नुपर्छ ।’
सडक निर्माणका लागि चाहिने नदीजन्य पदार्थ पारदर्शी र विधिसम्मत ढंगले सहजरुपमा आयोजनालाई उपलब्ध गराउन अर्थमन्त्री पौडेलले आयोजना क्षेत्रका स्थानीय तहलाई आग्रह गरे ।
समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका केशवकुमार शर्मा, महानिर्देशक रामहरि पोखरेलले बुटवल–गोरुसिङ्गे सडक अहिलेसम्मका सडक मध्ये वातावरणमैत्री, वन्यजन्तुमैत्री र स्मार्ट सडक हुने बताए ।
प्रतिक्रिया दिनुहोस्