१२ नेपाली महिला तस्करी गर्ने एक बेलायती नागरिक केन्यामा पक्राउ

काठमाडौं, बैशाख ३ । १२ नेपाली महिला तस्करी गर्ने बेलायती केन्यामा पक्राउ परेका छन् । तस्करी गरी केन्याको आफ्नो रात्रि क्लवमा १२ नेपाली महिलालाई प्रयोग गरेको अभियोगमा ति बेलायती नागरिक पक्राउ परेका हुन् ।

पक्राउ परेका अमिराली अलिभाई नाम व्यक्तिसँग बेलायतसहित दुई देशको नागरिकता पनि रहेको छ ।

गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा केन्याली प्रहरीले १२ नेपाली महिलासहित त्यसका सञ्चालक अलिभाईलाई पनि पक्रेको थियो ।

प्रहरी छानबिनमा अलिभाइले १२ नेपाली महिलाको तस्करी गरी न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको थियो ।

प्रहरीले अलिभाईसँग भारत र बेलायतको नागरिकता रहेको दावी गरेको छ भने अलिभाईका वकीलले उनीसँग दोहोरो नागरिकता रहेको स्वीकार्दै भारतको नभई बेलायत र क्यानडाको रहेको जिकीर गरेको छ ।

अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध नेपाली महिला तस्करी गरेर दुरुपयोग गरेको अभियोग छ ।


नेपाली महिलाहरुलाई मार्च १३ देखि २४ को बीचमा झुक्याएर आफ्नो क्लबमा प्रयोग गरिएको दायर मुद्दामा उल्लेख छ ।

मानव तस्करी गरेको, त्यसका लागि उक्साएको र नेपाली नागरिकको भ्रमण कागजात जफत गरेको अभियोग पनि उनलाई लगाइएको छ ।

रंगिला बार र एम्की प्लाजाका मालिक अलिभाईले उक्त स्थललाई नेपालीको तस्करीमा प्रयोग गर्ने गरिएको दी स्टार नामक अनलाइन पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्