यसबर्ष बजेट अभावका कारण गैंडा गणना नहुने

काठमाडौं , चैत २८ । यो पल्ट नेपालका निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैँडा गणना नहुने भएको छ ।

सन् २०१५ मा गैँडा गणना गरिएको थियो । यस वर्ष गणना गर्ने भनिएको भए पनि बजेट अभावका कारण गणना नहुने भएको हो ।

हरेक चारदेखि पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीमा बाढी आउंँदा धेरै गैँडालाई बगाएको थियो ।

दश गैँडा भारतबाट उद्धार गरिएको थियो भने कम्तीमा तीन गैँडा अझै भारतमा छन् ।

बाढीले कतिपय गैँडा मरेको र निकुञ्जमा तितरवितर हुंँदा प्राकृतिक कारणले धेरै गैँडा मरेका छन् ।

वास्तविकता थाहा पाउनका लागि यसै वर्ष गणनाको तयारी गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बजेटको अभावमा यस वर्ष गैँडा गणना नगरिएको बताए ।

अप्रिलको पहिलो साताभित्र गणना थालिसक्नुपर्ने हुन्छ । गणनाका लागि करिब एक महिना समय लाग्छ ।

सन् २०१५ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखिएका थिए ।

पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ६४५ गैँडा रहेका थिए ।

पछिल्ला वर्षमा शिकारीले गैँडा मार्न नपाए पनि प्राकृतिक कारणले धेरै गैँडा मरेका छन् ।

चालू आर्थिक वर्षमा निकुञ्जमा ४१ गैँडा प्राकृतिक कारणले मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्