झापामा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं, चैत २३ । शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५, ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेका छन् ।

मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

घाइते दुवैजनाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनैजना गम्भीर घाइते भएका थिए ।

घाइते तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याइएको थियो । उपचारकैक्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

झापामा दुई साताअघिमात्र अर्जुनधारा नगरपालिकामा घरमै बसिरहेका अवस्थामा चट्याङ लागेर दुईजना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्