अमेरिकी डलरसहित विमानस्थल क्षेत्रबाट एकजना पक्राउ, जुवातास खेल्ने पाँचजना बालाजुबाट समातिए

काठमाडौं, फागुन २५ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौंका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले अवैधरुपमा १०० दरको १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको जानकारी दिइन् ।

पक्राउ परेका नकर्मीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेल्ने पाँचजना बालाजुबाट समातिए
यसैबीच, महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले तारकेश्वर नगरपालिका–५, मुड्खुस्थित ग्रीन गार्डेन फ्यामिली रेस्टुरेन्टमा जुवातास खेल्ने पाँचजनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले तास र रु ३७ हजार ५०५ बरामद गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्