सप्तरीको मलेठ घटना भएको २ वर्ष पुरा, राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं, फागुन २३ । सप्तरीको मलेठ घटना भएको २ वर्ष पुरा भएको छ।

२ वर्षअघि आजैका दिन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले)को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग मलेठमा झडप भएको थियो। सो झडपलाई तितरवितर पार्न सुरक्षाकर्मीले गोली चलाउँदा ५ जना मृत्यु भएको थियो।

सो घटनामा सहिद भएकाहरुको स्मृति एवम् सम्मानमा राजविराज नगरपालिकाले आज (बिहीबार०) सार्वजनिक बिदा दिएको छ।

राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको नगर कार्यसमितिको बैठकले सहिदको सम्मानमा बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाले विज्ञप्ति जारी गरी सहिदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ।

मलेठ घटनाको दुई वर्ष पूरा भएको दिन सहिदको सम्मानमा हुने स्मृति सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रित दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा–फोरमको संयुक्त समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्