चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब
काठमाडौं, फागुन २ । चितवनका एक किसानले १० लाखको गुलाब बेचेका छन् । गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महिनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् ।
पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गरेका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महिनाको अवधिमा रु १० लाखको फूल बिक्री गरेका हुन् ।
रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताएका उनको फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन् ।
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । यसै अवसरमा उनले पनि १० लाखको गुलाब बेचेका हुन् ।
‘ एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको छ,’ पन्तले भने, ‘वैशाखमा लगाइएको बिरुवाले मंसिरबाट उत्पादन दिन थालेको हो ।’
बिरुवा रोपेको छ महिनाबाट चार वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मंसिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उनको भनाइ थियो ।
गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४–१५ पर्छ । ‘गुलाब उत्पादन गर्न खर्चिलो छ,’ पन्तले भने, ‘एउटा बिरुवाको रु १०० पर्छ ।’ हल्याण्डबाट ल्याएको माउबोटलाई उनले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गरेका हुन् ।
‘नेपालमा उत्पादन गर्नसके बजारको कुनै समस्या छैन । नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ ।
पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गरेका छन् । उनले उत्पादन गरेको फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ ।
प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।
प्रतिक्रिया दिनुहोस्