परिवारलाई नियन्त्रणमा लिई घाइते बनाइ लाखौंको लुटपाट, तीनजना पक्राउ
काठमाडौं, फागुन १। जनकपुरमा मंगलबार राति लुटेराहरुले तीनजनालाई घाइते बनाइ लाखौंको लुटपाट गरेका छन् ।
जनकपुर उपमहानागरपालिका १३ पीडारी बस्ने शोभित राउतको घरमा लुटेराको समूहले आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
राति झण्डै १ बजे ९–१० जनाको समूहमा आएका लुटेराहरुले परिवारका सदस्यहरुमाथि आक्रमण गरी ५ लाख ५७ हजार नगद र सुनको गरगहना गरी ६ लाखभन्दा बढीको लुटपाट गरेको पीडित राउतले बताए ।
लुटेराको हतियार प्रहारबाट शोभित राउत, उनकी श्रीमती निर्मलादेवी र घरमा डेरा गरी बस्ने रमिता साह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
लुटेराहरुले धारिलो हतियारले उनीहरको टाउकोमा प्रहार गरेका थिए । घाइतेहरुको उपचार जनकपुरको रामजानकी हस्पिटल प्रालिमा भइरहेको छ ।
घटनापछि प्रहरीले तीनजना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
घटनास्थल जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालयभन्दा डेढ किलो मिटर पश्चिम दूरीमा रहेको छ । समयमा प्रहरी नआएको स्थानीयहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्