बन्दीपुरमा जीप दुर्घटना, २ जनाको मृत्यु, ५ घाइते

काठमाडौं, माघ २४। तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६, जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नम्बरको जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा गएराति ७ः३० बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुको बन्दीपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
अर्यालका अनुसार जीप कच्ची सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ कै ४५ वर्षीया चिजामाया गुरुङ, सोही ठाउँका ६० वर्षीया हरिमाया गुरुङ, ६० वर्षीया धनमाया गुरुङ, ५१ वर्षीया कमली गुरुङ र जीप चालक सोही ठाउँका २५ वर्षीय विर्खबहादुर गुरुङ घाइते भएका छन्।
घाइतेहरुलाई थप उपचारका लागि पोखरा लगिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्