धारा खोल्न उपमहानगरपालिकाको निर्देशन

तुलसीपुर, माघ १४ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई तत्काल धारा वितरणको आवेदन खोल्न निर्देशन दिएको छ ।

नगर कार्यपालिकाको ५१औ बैठकले धारा नखोलेको लामो समय भएको भन्दै उपभोक्ताहरुको समस्यालाई सम्वोधन गर्नका लागि यस्तो निर्णय गरेको हो । “धारा लामो समय नखोल्दा खानोपानी संस्थानको कार्यशैली प्रति नै प्रश्न चिन्ह खडा भएको छ “ नगरप्रमुख घनश्याम पाण्डेले बताए । नगरप्रमुख पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका भित्रका अन्य खानेपानी सस्थाहरुलाई पनि स्रोत पहिचान गरेर धारा खोल्न र वार्षिक र लेखा परिक्षण प्रतिवेदन वुझाउनका लागि निर्देशन दिने निर्णय गरेको हो ।

स्थानीय तहले स्थानीय सरकारका रुपमा संघसंस्थाहरुलाई विभिन्न निर्देशन दिन सक्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख गरिएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति लगायतका अन्य खानेपानी संस्थाहरुले लामो समयसम्म धारा नखोल्दा यहाँका जनताले निकै साप्ती खेप्नु परेको छ । बैठकले फागुन १५ गतेसम्म धारा खोल्नका लागि आवेदन माग गर्नुका साथै प्रतिवेदनहरु पनि पेश गर्नका लािग समय सीमा तोकेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

प्रवक्ता डाँगीका अनुसार तुलसीपुर नयाँ वसपार्कमा खोला र सडक ओगटेर निर्माण गरिएका पक्की घर भत्काउनका लागि सूचना प्रकाशित गरेर आग्रह गर्ने र अटेर गरे उपमहानगरपालिकाले भत्काउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्