काठमार्डौ, माघ १० । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३८ उजुरीहरु परेका छन्। तीमध्ये अधिकांश उजुरी मेलमिलाप गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताइन्।
‘न्यायिक समितिमा परेका उजुरीलाई सम्बन्धित वडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानकोे लागि प्रयास गर्ने गरेका छौँ’, उनले भनिन्, ‘ती वडाले मुद्दा मिलाउन नसके मेलमिलाप केन्द्रमा छलफल भएको भन्ने जानकारीसहित वडाध्यक्षले सिफारिश गरेर पठाएपछि हामीले मुद्दा हेर्ने गरेका छौँ।’
न्यायिक समितिमा परेका ३८ मध्ये ३२ उजुरी समाधान गरिएको र बाँकी रहेका ६ उजुरी पनि प्रक्रियामा रहेका छन्। नगर उपप्रमुख रहेकी कँडेलले नगरवासीलाई छिटो र छरितो न्याय दिन नगरपालिका तत्पर रहेकाे बताइन्। न्यायिक समितिमा परेका उजुरीमध्ये अधिकांश मुद्दा साँध सिमाना, श्रीमान्–श्रीमतीबीच बेमेल, सासु–बुहारीबीच झगडा, बाबु–छोराबीच झगडालगायत रहेको उनको भनाइ छ।
१८ वडा रहेको गैँडाकोट नगरपालिकामा पहिले ३० मेलमिलापकर्ता रहेकामा हाल ६० थप्दै ९० जना पुर्याइएको, मेलमिलापकर्ता धेरै भएकाले पनि न्याय सम्पादन छिटोछरितो हुने गरेको र यहाँ परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक कँडेलले जानकारी दिइन्।
मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जीतको अनभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै आँच नआउने भएकाले मेलमिलापमा जोड दिएर मुद्दा मिलाउने गरिएको हाे।
प्रतिक्रिया दिनुहोस्