नेपाल दूरसञ्चार कम्पनीको एघारौं वार्षिक साधारणसभा सम्पन्न, कति दिने भयो लाभांश ?

काठमाडौं, ३० पुस ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज (२०७५ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ % भन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७४।७५ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७५/७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको एघारौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिबेदन पेश गर्दै उहाँले अगामी दिनमा समेत अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले विगत वर्षहरूमा जस्तै आर्थिक वर्ष २०७४/७५ मा पनि कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा वृद्धि गर्न सफल भएको बताउदै २०७५ असार सम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको जानकारी दिनुभयो । साथै उहाँले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रविधिको तीव्र विकास भएसँगै विश्वब्यापी रुपमा भ्वाइस सेवाको ब्यापारमा शिथिलता आई भ्वाइसको ब्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुनेक्रम जारी रहेको बताउनु भयो । साथै तीव्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा ब्यापक कटौतीका बावजुद सञ्चालन आय रु. ३९.०२ अर्व कायम गरी कुल आयमा १.५२ प्रतिशतल वृद्धि गर्न कम्पनी सफल भएको बताउनु भयो । त्यस्तै उहाँले समीक्षा वर्षमा नाफा १३.७३ प्रतिशतले वृद्धि गरी रु. १७.४८ अर्ब पु¥याउन कम्पनी सफल भएको समेत जानकारी दिनुभयो ।

उहाँले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा (4G) विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको 4G/LTE उपकरणलाई 5G मा स्तरोन्नति गर्ने लक्ष्य रहेको बताउनु भयो । ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवाFiber To The Home (FTTH)  को विस्तार लाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने समेत जानकारी दिनु भयो ।

कम्पनीबाट सञ्चालित आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले आयोजना कार्यान्वयनको अनुगमन प्रणालीलाई प्रभावकारी बनाई तोकिएको अवधिभित्र आयोजना सम्पन्न गर्ने सम्बद्ध पक्षहरूलाई पुरष्कृत गर्ने र नियतवश ढिलाइ गर्नेलाई दण्ड जरिबाना गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने व्यवस्था मिलाइने जानकारी दिनु भयो । कम्पनीको सेवा विस्तार र सेवाको गुणस्तर कायम गर्न अहं भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया शुरु भएको समेत जानकारी दिनु भयो ।

बढ्दो विश्वव्यापीकरणसँगै दूरसञ्चार क्षेत्रमा भइरहेको प्रतिस्पर्धाको कारणले हाम्रा निर्णय प्रक्रिया, कार्यशैली, संस्थागत संरचनामा सुधार गरी कम्पनीलाई परिवर्तनमुखी, व्यावसायिक तथा गतिशील संगठनको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी कम्पनीको Due Diligence Audit (DDA) गर्ने कार्य सम्पन्न भई परामर्शदाताबाट अन्तिम प्रतिवेदन प्राप्त भइसकेको जानकारी दिनु भयो ।

कम्पनीका अध्यक्षले साधारण सभामा शेयरधनी महानुभावहरुले उठाउनु भएका विभिन्न सुझावहरु प्रति आभार ब्यक्त गर्दै कम्पनी हाल पनि नम्बर एक अवस्थामै रहे तापनि प्रविधि तथा आवश्यकता र ग्राहकको मागका कारण थुप्रै चुनौतीहरुको सामना गर्नु पर्ने अवस्थामा भएको बताउँदै आगामी दिनमा थप व्यावसायिक रुपमा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले कम्पनीले हाल पनि शेयरधनी महानुभावहरुको अधिकतम हितका लागि कार्य गरिरहेको र आगामी दिनमा गुणस्तरीय सेवामार्फत शेयर धनीहरुलाई अझ बढी प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
एघारौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गते देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्