काठमाडौं,पुस ३० । बैतडीको संरक्षित सिगास वन क्षेत्र नजिकै थापिएको पासोमा परेर शनिबार एक चितुवा मर्यो। जिल्ला वन कार्यालय बैतडीका कर्मचारीले सिगास गाउँपालिका– ८ मौरीबगलमा पासोमा परेको मृत चितुवा सदरमुकाम ल्याएर खाल्टोमा पुरे।
बैतडीमा मानवले थापेको पासोमा परेर अहिलेसम्म ११ चितुवा मरिसकेका छन्। चालू आर्थिक वर्षको साउनयता मात्रै बैतडीमा ५ वटा चितुवा पासोमा परेर मरेको जिल्ला वन कार्यालय बैतडीले जानकारी दिएको छ।
वन विनासले जैविक विविधतामा असर पर्दा चितुवाको आहारामा कमी हुन थालेपछि बैतडीमा बेलाबेला चितुवाले मान्छेमाथि आक्रमण गरेर शिकार गर्ने गरेको छ। ६ वर्षयता बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवाले २३ जना बालबालिकालाई आक्रमण गरी मारेको जिल्ला वन कार्यालयको तथ्यांक छ।
वन जंगलको संरक्षण गरेर जैविक विविधता जोगाउनुपर्ने जिल्ला वन कार्यालयका कर्मचारी चन्द्रनारायण शाह बताउँछन्। सिगास संरक्षित वन मात्रै नभएर पवित्र धर्मिकस्थल भएकोले यस्तो पवित्र ठाउँमा मान्छेले थापेको पासोमा परेर चितुवाको मृत्यु हुनु दुःखद् कुरा भएको शाहले बताए।
मासुका लागि बँदेललाई पासोमा पार्न स्थानीय शिकारीले जंगल नजिक पासो थाप्ने गरेका छन्। चितुवाको आहारालाई मान्छेले खाइदिएपछि चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको जिल्ला वन कार्यालयको तथ्यांक छ।
सिगास संरक्षित वन क्षेत्रको धना जंगल चित्तल, घोरल, जयारायो र चितुवाको उपयुक्त बासस्थान मानिन्छ। यहाँ लौठसल्ला, सेतो चन्दन, उत्तिस र लालीगुराँसको बाक्लो जंगलसहित ४२ भन्दा बढी जडिबुटी भएकोले नेपाल सरकारले संरक्षित वन घोषणा गरेको हो।
सिगास संरक्षित वन क्षेत्र घोषणा गरिए पनि वन क्षेत्र जोगाउन कुनै किसिमको बार÷बन्देज लगाइएको छैन। संरक्षित वन क्षेत्रको जैविक विविधता जोगाउन समयमै सरकारी स्तरबाट पहलकदमी हुनुपर्ने स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्