काठमाडौँ , पुस २३ । कैलालीको चुरे गाउँपालिका स्थित भासु भीरमा एक महिलाले श्रीमानको मृत्यु भएको स्थानमै गएर आत्महत्या गरेकी छन् । धनगढी उपमहानगरपालिका १४ बस्ने भागरथी बिकले भासु भीरमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यसअघि उनका श्रीमानको भासु भीरमा सडक मर्मतका क्रममा रोलरले च्यापेर मृत्यु भएको थियो । उनले श्रीमानको मृत्यु भएपछि क्षतिपुर्तीका लागि विभिन्न निकायमा पहल गरेकी थिइन् । आत्महत्या कहिले गरेको हो भन्ने जानकारी नभएपनि आइतबार मात्र बिकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।
भासु भीरमा झुण्डिएको अवस्थामा रहेको शवलाई इलाका प्रहरी कार्यालय फल्टुडेले निकाल्न नसकेपछि सशस्त्र प्रहरीलाई खबर गरीएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले भीरबाट शव निकालेको थियो ।उता रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ ।
रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् ।आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्