धनकुटामा हिउँ परेपछि खुशीयाली, तर जनजीवन भने प्रभावित

काठमाडौं, पुस १४ । धनकुटामा एक्कासी परेको हिउँका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको करिब १५ सय मिटर माथिका अधिकांश स्थानमा हिउँ परेको छ ।
धनकुटा नगरपालिका वडा नम्बर १ निगालेदेखि हिले, जोरपाटी, सिँधुवा, चित्रे, पाख्रिवाससम्मको भाग हिउँले ढाकिएको छ । खाली डाँडा हिउँले ढाकिएर सेताम्मे बनेका छन् ।
निगाले पाख्रिवासलगायतका स्थानमा करिब दुइ दशकपछि हिउँ परेको हो ।
यता हिले, जोरपाटी, सिदुवालगायतका स्थानमा भने करिब एक दशकपछि हिउँ परेको स्थानीय बताउँछन् ।
हिउँ परेसँगै उच्च क्षेत्रका बासिन्दा खुशी भएका छन् । हिउँले माटो मलिलो बनाउने र बालीनाली सप्रिने किसानहरु बताउँछन् ।
उता, हिमाली जिल्ला मनाङमा हिमपातका कारण निकै चिसो बढेको छ । अत्यधिक हिउँ परेपछि यहाँका बासिन्दा चिसो छल्न काठमाडौंतर्फ लागेका छन् ।
जिल्लाको सदरमुकाम चामेमा माइनस १४, पिसाङमा माइनस ११, माथिल्लो मनाङमा माइनस २२ डिग्री तापक्रम मापन गरिएको छ ।
हिमपातका कारण यस भेगमा पानीसमेत जमेकाले खानेपानीको अभाव भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्