२५ लाख अवैध रकमसहित २ भारतीय पक्राउ

काठमाडौं, पुस ९ । भारतबाट लुकाईछिपाई नेपालतर्फ ल्याइँदै गरिएको करीब २५ लाख अवैध रकमसहित २ भारतीय नागरिक आइतवार विराटनगरबाट पक्राउ परेका छन् ।
प्रहरीले भारतको विहार राज्य अररिया जिल्ला फारविसगन्ज–९, नयाँ टोलका वर्ष २८ का सनोजकुमार साह र सोही स्थानका वर्ष ५० की सुशीलादेवी गुप्ता साहलाई पक्राउ गरेको हो ।
विराटनगरको स्थानीय रोडशेष चोकमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय बीआर ३८ एच ६१४२ नम्बरको कालो रङको मारूती सुजुकी कार चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको विभिन्न दरको रकम बरामद गरेको हो ।
प्रहरीले २४ लाख १५ हजार ९ सय २४ रुपैयाँ नेपाली र ४ हजार ९ सय भारतीय रुपयासहित बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय, इटहरी पठाइएको मोरङ प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्