कठमाडौं, मंसिर २७ । निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका काभ्रे जिल्लाका ५ जनाले पाएको रकम फिर्ता गरेका छन्।
जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख लोकनाथ रेग्मीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नुपर्ने भनी समयसीमा तोकेर सबै लाभग्राहीलाई आग्रह गरेपछि ५ लाभग्राहीले आवास निर्माण गर्न नसकेका कारण रकम फिर्ता गरेका बताए।
रोशी गाउँपालिका–४ महादेवटारका मानबहादुर लामा र धनबहादुर तामाङ, पनौती नगरपालिका–५ बाँसघारीका शैलेन्द्रकुमार थापा, भुम्लु गाउँपालिका–१ का अर्जुन महत र सोही गाउँपालिका–५ का शिवबहादुर खड्काले रकम फिर्ता गरेका हुन्।
कार्यालय प्रमुख रेग्मीका अनुसार महादेवटारका लाभग्राहीले अर्को ठाउँमा घर भएका कारण रकम फिर्ता गरेको र भुम्लु गाउँपालिका–५ का खड्काले आम्दानीको स्रोत केही नभएको र आफू एक्लै घरमा भएका कारण घर बनाउन नसक्ने भएपछि सरकारले तोकेको समयमा निर्माण गर्न नसकेको भन्दै फिर्ता गरेका हुन्।
सम्झौता गरी घर नबनाएकाले कि त तोकिएको समयमा बनाइसक्नुपर्ने, कि त रकम फिर्ता गर्नुपर्ने भनी सार्वजनिक रूपमा सूचना आह्वान गरेपछि कसरी रकम फिर्ता गर्ने भनेर सल्लाह लिन आउनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिए।
जिल्लामा ८२ हजार ८ सय ३३ जना लाभग्राहीको पहिचान भएकामा अनुदान सम्झौता गरेका ६८ हजार ८ सय २६ जनाले पहिलो किस्तावापतको रकम बुझिसकेका छन् भने अझै १४ हजार ७ ले अनुदान सम्झौता गर्न बाँकी नै रहेको जनाइएको छ।
सबै अधिकार स्थानीय तहलाई नै जिम्मा दिइसकेका कारण लाभग्राहीमा नपर्नुपर्ने मान्छेले पनि पहिलो किस्ता लिएकाले त्यस्ता व्यक्तिको हकमा सार्वजनिक रूपमा सूचना दिइसकेको र सम्बन्धित गाउँपालिका र नगरपालिकाले फिर्ता लिनुपर्ने र फिर्ता लिन नसकेमा जिल्ला प्रशासन कार्यालयमा सरकारी बाँकीसरह असुलउपर गर्ने भनेर लेखेर पठाइने प्रमुख रेग्मीले स्पष्ट पारे।
केन्द्रको निर्देशनअनुसार उक्त इकाइले सम्झौता गरी घर नबनाएकालाई सार्वजनिक रूपमा सूचना आह्वान गरी आगामी पुस १५ गतेभित्रमा रकम फिर्ता गर्न आग्रह गरेको छ।
त्यससँगै जिल्लामा आंशिक क्षतिमा परेका भूकम्प लाभग्राहीमध्ये १३ जनाले घर प्रवलीकरण गरी रकम लिइसकेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्