उदयपुरमा प्रहरी र स्थानीयबीच झडप , ४ जना घाइते

काठमाडौं , कात्तिक १८ । उदयपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप हुदा ४ जना घाइते भएका छन् ।
उदयपुरको कटारी नगरपालिका वडा नं. ४ मा स्थानीय र प्रहरीबीच झडप भएको हो । कसमस सिमेन्ट उद्योगको चुनढुंगाको विषयलाई लिएर विवाद हुँदा कटारीको मरुवा खोलामा प्रहरीले महिलामाथि हातपात र लाठ्ठी चार्ज गरेको स्थानीयको आरोप छ ।
डीएसपी ध्रुवकुमार श्रेष्ठको कमाण्डमा रहेको टोलीले स्थानीय महिलामाथि हातपात गरी लाठी चार्ज गरेको स्थानीय रिसव पौडेलले बताए । उनले भने, ‘गएको तीन चार दिनदेखि कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो, । ‘स्थानीयले रोकेर राखेको टिप्पर खुलाउन गएको प्रहरीले स्थानीयलाई मार्ने धम्की दिँदै लाठी चार्ज गरेको हो ।’
प्रहरीको लाठी लार्जले कटारी नगरपालिका ४ मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताए । ‘प्रहरीले रक्सी खाएर शनिबार राति रोकेको टिप्पर खुलाउने वाहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाएको उनले बताए ।
प्रहरीले शरीरका विभिन्न भागमा हिर्काउनुकासाथै उनीहरुको कपडासमेत च्यातिदिएको र गालीगलौज गरेको घाइते राधिका राउतले बताईन ।
झडपमा घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन् भने अन्य ४० जना महिला भागदौडमा सामान्य घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्