सुन्धारामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते, ट्राफिक जामकै कारण एम्बुलेन्समै बिरामीको मृत्यु

काठमाडौं, असोज १८ । काठमाडौंको सुन्धारामा गएराति टिपरको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् ।
धादिङ निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं बसुन्धारा बस्ने सरोज परियार र चिरन्जिवी नेपाली दुर्घटनामा घाइते भएका हुन् । घाइते दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चिरन्जिवीको अवस्था भने गम्भिर रहेको अस्पताल श्रोतले जनाएको छ ।
गएराति सवा ११ बजे बा५ख २७८६ नम्बरको टिपरले बा४९प ३७७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।
ट्राफिक जामकै कारण एम्बुलेन्समै बिरामीको मृत्यु
 भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं ल्याइँदै गरेका एक बिरामीको ट्राफिक जामका कारण एम्बुलेन्समै मृत्यु भएको छ ।
नौबिसे–नागढुंगा सडकखण्ड पार गर्न घण्टौं लागेपछि चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको हो । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो ।
चौधरीलाई बोकेर आएको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेर आएको थियो । त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घण्टासम्म जाममा बस्नु परेको थियो ।
जाममै फसेका बेला बुधबार बिहान करिब १० बजेतिर बिरामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्