२१ तोला सुन सहित एक व्यवसायी सुर्खेतबाट पक्राउ
काठमाडौं,६ असोज । प्रदेश नं. ५ नेपालगञ्जका एक सुन व्यवसायी कर्णालीको राजधानी सुर्खेतमा पक्राउ परेका छन्।
करिब २१ तोलाभन्दा बढी सुनसहित नेपालगञ्ज उपमहानगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष व्युरोका प्रहरी टोलीले वीरेन्द्रनगरको सुब्बाकुनाबाट पक्राउ गरेको हो।
भे ५ प १८ नम्बरको मोटरसाइकलमा लुकाउँदै ल्याएको विशेष सुचनाको आधारमा विशेष व्युरोको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका उनी नेपालगञ्जका व्यापारी रहेको बुझिएको छ। मोटरसाइकलमा लुकाइएको अवस्थामा करिब २१ तोला ७९ ग्राम सुन बरामद गरिएको हो।
प्रवक्ता चौधरीका अनुसार बरामद गरिएको सुन करिब १२ लाख बजार मूल्य रहेको छ।
प्रतिक्रिया दिनुहोस्