काठमाडौं,३ असोज। मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ ।
गत असारदेखि निर्माण कार्य थालेको मध्यपहाडी लोकमार्ग आयोजनाले असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालेपछि यात्रुलाई समस्या परेको छ ।
सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक सात घण्टा बन्द गर्न थालिएको हो ।
लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ ।
सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म दुई घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।
असोज २० देखि दशैँ शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्