लमजुङका बाढीपीडितलाई घरदैलोमै पुगेर राहत वितरण

काठमाडौं,३१ भदौ ।  लमजुङका बाढीपीडितलाई घरदैलोमै पुगेर राहत परिवार वितरण गरिएको छ । बाढी पहिरोमा परी मृत्यु भएका मर्स्याङ्दी गाउँपालिकाका चारजनाका परिवार र विपद्को कारण घर क्षति भएका १२ परिवारलाई राहत वितरण गरिएको हो ।
बाढी पहिरोमा परी मृतकका परिवारलाई जनही एक लाख र मर्स्याङ्दी गाउँपालिकाबाट जनही ५० हजार रुपैयाँ प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । ‘प्रतिकूल मौसम, ठाउँ ठाउँमा सडक अवरूद्ध भएको अवस्थामा समेत पीडितको घर आँगनमा समयमा नै राहत पुर्‍याइएको छ,’ प्रजिअ ढकालले भने ।
बाढी पहिरोले घर बगाएका पीडित परिवारलाई प्रतिघर ५० हजार र आंशिक क्षति भएकालाई २५ हजार रुपैयाँ प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका पहिरोबाट प्रभावित २६ परिवारलाई जिल्ला प्रशासन कार्यालय र मर्स्याङ्दी गाउँपालिका–६ का जनप्रतिनिधिसँगको समन्वयमा न्यादी जलविद्युत् आयोजनाबाट प्रतिपरिवार ३० किलोका दरले चामल, चार किलोका दरले दाल, एक लिटरका दरले तेल र एक किलोका दरले नून वितरण गरिएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी, लमजुङ शाखाबाट शनिबार बाहुनडाँडा, रामबजार, अर्खलेबेशीलगायतका स्थानका प्रभावित १८ परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडाको सेटसहितको गैरखाद्य सामग्रीको राहतस्वरुप वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्