घुस लिएको आरोपमा असईसहित ९ जना प्रहरी पक्राउ

 काठमाडौं, भदौ  ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना प्रहरी सहायक निरीक्षक (असई)सहित ९ जना प्रहरीलाई पक्रेको छ । घुस रकमसहित अख्तियारको टोलीले काठमाडौंको काँडाघारी र कोटेश्वरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत ठिमीमा कार्यरत सुवास ढुंगाना रहेका छन् । यस्तै ७ जना प्रहरी जवान पनि रहेको प्रहरीले जनाएको छ ।
अख्तियारबाट गएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकमसहित कोटेश्वरको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको जनाएको छ। श्रेष्ठसँगै महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेल ५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
यस्तै काँडाघारीबाट ७ जना प्रहरी पक्राउ परेको अख्तियार श्रोतले जनाएको छ। काँडाघारीबाट पक्राउ पर्नेमा एक असई २ हवाल्दार र ४ जना जवान रहेका छन् ।
पक्राउ परेका प्रहरीहरुल मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै ठेकेदारसँग घुस मागेको अख्तियारले जनाएको छ । पक्राउ परेका प्रहरीको साथबाट अख्तियारले एक लाख रुपैयाँ बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्