काठमाडौं, २७ भाद्र । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानले नयाँ मोड लिएको छ ।
मुख्य अभियुक्त भन्दै घटना भएको २४ दिनपछि प्रहरीले दीलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । बिष्टले अपराध स्वीकार गरेको र उनी नै मुख्य अभियुक्त हुन भन्दै प्रहरीले बताउँदै आएको थियो तर घटना भएको तीन हप्तापछि प्रहरीको त्यो कथन गलत सावित भएको छ । निर्मलाको शरिरमा फेला परेको डिएनए बिष्टको डिएनएसँग नमिलेपछि उनी रिहा भएका हुन ।
सोही घटनामा पक्राउ परेकी निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि रिहा भएका छन् ।
बलात्कार पछि हत्या भएको दुई महिना हुन लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन् ।
प्रहरीलेनै अभियुक्त भनेका बिष्ट रिहा भएपछि प्रहरीको अनुसन्धान माथि नै प्रश्न उठेको छ । के गर्दै छ प्रहरी ? अब अनुसन्धानले कस्तो मोड लिन्छ ?
बिष्टले निर्मलाको बलात्कार र हत्याबारे वर्णन गरेका कुरा र पोष्टमर्टको रिपोर्ट हेर्दा सबै मिलेको बताइएको थियो, यहाँ सम्मकी, उनले लगाएका भित्री कपडा के कस्तो समेत बयानमा बिष्टले मिलाएकोले उनीनै अभियुक्त भएको निष्कर्षमा पुगेको प्रहरीले बताएको थियो । तर डिएनए परीक्षणबाट उनी निर्दोष देखिए ।
बिष्टलाई कसैले प्रलोभनमा पारी घटनाको सबै विवरण सिकाएर कसले प्रलोभनमा पारेर अपराध स्वीकार्न लगायो अनुसन्धान हुनुपर्यो । यदि बिष्टले अपराध स्वीकार नगरी प्रहरीले बाहिर झुठो विवरण पेश गरेको थियो भने त्यो मुख्य अपराधी बचाउनका लागि प्रहरीले अपनाएको हतकण्डा हो भन्ने प्रमाणित हुन्छ ।
अब निर्मलाको बलात्कार र हत्या उखुबारीमा नै भएको हो कि होइन भन्नेबारे पनि अनुसन्धान थालिएको छ । उनको शव उखुबारीमा भेटिएको थियो । तर बलात्कार र हत्या त्यहीँ भएको हो वा शवमात्र त्यहाँ फालिएको हो भन्नेबारे अनुसन्धान थालिएको छ ।
बिष्ट दोषी नभएपछि शंकास्पद सबैलाई विभिन्न कोणबाट अनुसन्धान भइरहेको र हिरासतमुक्त भए पनि बम दिदीबहिनी पनि प्रहरीको निगरानीमै रहने छन ।
अहिले निर्मलाको शरीरमा भेटिएको डिएनएको प्रोफाइल तयार भइसकेको छ र स्थानीयले केही व्यक्तिको नामै किटेर उनीहरू घटनामा संलग्न भएको बताउँदै आएका छन् । तर प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी डिएनए परीक्षण गराएर अनुसन्धानलाई टुंग्याउन सक्छ । तर प्रहरीले त्यसो गरेको छैन ।
प्रहरीले नै बिष्ट अपराधी हुन् भनेर उनी विरूद्ध किटानी जाहेरी दिन निर्मलाका बुवाआमालाई दबाब दिएपछि अनुसन्धान नै शंकाको घेरामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्