अलविदा गणेश रसिक

काठमाडौं,८ जेष्ठ । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएका हो ।

उमेरले ७७ वर्ष पुगेका रसिक ५ वर्षदेखि क्यान्सरसंग जुधि रहेका थिए । उनका भाइ वसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको आज बिहान ११ बजेतिर निधन भएको उनले बताएका हुन ।
उनको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते भएको हो ।

रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् । उनको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति भेटिन्छ ।

उनका नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् ।

रसिकले बीए सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म विविध जिम्मेवारी निर्वाह गरेका थिए ।

रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरे ।

नेपाली गीत सङ्गीतको सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूलधार हुन् ।

 

प्रतिक्रिया दिनुहोस्